डिप्रेसन

सामान्यतया अंग्रेजी शब्द डिप्रेसन र हामी क्लिनिसियनले भन्ने शब्द डिप्रेसनमा फरक छ। प्रायजसो केही नराम्रो घटना भयो र आफुलाई केही गार्हो भयो भने हामी उदास हुन्छौं। त्यसलाई प्रायले म त डिप्रेस भएँ भन्ने गरेको सुनिन्छ। तर हामी क्लिनिसियनहरूले उदासिनताको समय बिहानदेखि बेलुकासम्म अथवा लामो समयसम्म भयो, खुसी हुनुपर्ने कुरामा पनि खुसी लाग्न छोड्यो, दिमागमा नकारात्मक सोचहरू आउन थाले भने डिप्रसनको लक्षण मानिन्छ। त्यसैगरी सुसाइडका बिचारहरू आउन थाले, निन्द्रा गडबड हुन थाल्यो छट्पटी हुन थाल्यो, आत्मविश्वास कम हुने जस्ता किसिमका लक्षणहरू देखिए र यस्ता लक्षण १५ दिन भन्दा बढी भएर दैनिक जीवनमा असर पार्न थाल्यो भने हामी डिप्रेसन भन्न थाल्छौ।

मानिसलाई जीवनमा कुनै न कुनै कुराबाट तनाव हुने गर्दछ। तर तनाव छ भन्दैमा सबैलाई डिप्रेसन छ भन्न सकिदैन । त्यसकारण कसैको वंशाणुगत रूपमा जोखिम छ, कसैको दिमागमा भएका धेरै रसायनिक तत्वमध्ये सेरोटिन, डोपामिनको समस्याहरू छ भने त्यस्तो व्यक्तिमा डिप्रेसन हुने सम्भावना बढी हुन्छ। तनाव पनि एउटा तत्व हो डिप्रेसन गराउन तर तनाव मात्र भएर भएन वंशाणुगत वा न्यूरोबायोलोजीकल जोखिम पनि हुनुपर्छ।

डिप्रेसनका धेरै लक्षणहरू छन्। त्यसमध्ये सबै मानिसलाई एउटै लक्षण हुन्छ भन्ने पनि छैन। सामान्यतया हेर्दा हाम्रो जुन क्राइटएरिया छ त्यसमा दिमागमा नकारात्मक सोचहरू आउने, शरीरमा शिथिलताहरू आउने, शरीरमा फुर्ती नहुने, जुन कुरा पहिले रमाइलो लाग्थ्यो ती कुरा रमाइलो नलाग्ने, खुसी हुनुपर्ने कुरामा पनि उदासी हुने लक्षणहरू हुन्छन्। त्यस्तै अरु लक्षणहरूमा निन्द्राको गडबडी हुने, खाना खान मन नलाग्ने, आत्मविश्वासको कमी हुने, पश्चाताप हुने, भविष्य देखि हार मान्ने जस्ता लक्षण देखिन्छन्। यस बाहेक बच्चाहरूमा हुने लक्षणहरू पनि छन्। बच्चालाई धेरै खान मन लाग्ने, अलि बढी रिसाउने, धेरै निदाउने गर्छन। नेपालको हकमा हामीले कुरा गर्यौ भने हाम्रो समाजमा सामान्यतया चक्कर लाग्ने, सोला हान्ने, हातखुट्टा झमझमाउने, टाउको दुख्ने र शरीरमा शिथिलता आउने जस्ता लक्षणहरू छ भन्दै बिरामीहरू आउने गर्छन्।

हालै नेपाल हेल्थ रिसर्च काउन्सिलमा भएको नेसनल मेन्टल हेल्थ सर्भेमा लगभग तीन प्रतिशत जसमा अठार वर्ष भन्दा माथिका व्यक्तिलाई डिप्रेसन छ भनेर देखाएको छ। त्यसैगरी बच्चाहरूमा लगभग १ प्रतिशत बच्चाहरूमा डिप्रेसनको लक्षण छ भनेर देखाएको छ। अब यो बढ्दै गएको हो भन्नको लागि त पुरानो तथ्यांक चाहियो त्यसमा तुलना गर्नको लागि तर सरसर्ती हेर्दा हामीलाई के लाग्छ भने सतर्कता बढेकाले मानिसहरूले आफ्ना समस्याहरू खुलेर भनिरहेका छन्। पहिले पनि डिप्रेसन त थियो नै। अहिले हेर्दाखेरि अहिलेसम्मको हाम्रो अनुभवमा जीवनशैली, शिक्षा पद्धति, समग्रमा देशको अवस्था, गएको भुकम्प, कोरोना यी सबै कुराहरू हेर्दा लगभग डिप्रेसन हुने व्यक्तिहरूको संख्या त बढ्दो नै छ तर ठ्याक्कै यकिन गरेर कति बढ्यो भन्न भने हामीलाई गार्हो छ।

पहिले त समस्या हो भनेर पहिचान गर्नु नै ठूलो कुरा हो। यदि पहिचान भइसकेपछि डिप्रेसन हो भन्ने लाग्छ भने त्यसको उपचार गर्नुपर्छ। यसमा दुई थरीको उपचार अपनाइन्छ, एउटा साइकोथेरापी अर्को औषधिको प्रयोग। यदि सामान्य डिप्रेसन छ भने काउन्सिलको माध्यमबाट पनि त्यसलाई सहज रूपमा उपचार गर्न सक्छौ। तर यदि सिवियर डिप्रेसन छ भने औषधि उपचारको नै साहारा लिनुपर्छ। त्यसमा डिप्रेसनको मुख्य उपचार भनेको एन्टी डिप्रेसेन्ट मेडिकेसन हो भन्नुको अर्थ डिप्रेसनलाई काट्ने धेरै किसिमका औषधिहरू हुन्छन्। डिप्रेसनका लागि दिइने औषधिहरू भनेको लामो समय चल्ने औषधिहरू हुन् जुन कम्तिमा पनि एक वर्ष चलाउनुपर्ने हुन्छ। त्यसकारण समग्रमा भन्दा पहिला पहिचान हुनुपर्यो, पहिचान भएपछि मानसिक स्वास्थ्य विशेषज्ञकोमा सहयोग लिनुपर्यो त्यसपछि हामीले औषधि अथवा थेरापीको माध्यमबाट उपचार गर्छौं।

डिप्रेसन हुनै नदिनको लागि केही कुराहरू गर्न सक्छौ सय प्रतिसत हुनै दिदैनौ भनेर त हामी भन्न सक्दैनौं। तर सामान्यतः तनाव व्यवस्थापनका कुराहरू जीवनशैलीका कुराहरू, जाड रक्सी, चुरोट विडी गाजाको सेवन नगर्ने र यदि कुनै समस्या परेको छ भने परिवारले नै समग्र रूपमा लिएर समस्या समाधानतिर गयो भने त्यसले चाहिँ डिप्रेसन हुनबाट केही हदसम्म रोक्ला तर डिप्रेसन वंशाणुगत र मस्तिस्का रसायन सँग पनि सम्बन्धि भएकोले यसलाई सय प्रतिसत नै रोक्न सकिन्छ भन्ने थाहा छैन तर यदि डिप्रेसन भएको पहिचान भइसकेको छ भने मानसिक रोग विशेषज्ञसँग सहयोग लिनु जरूरी छ। यस्तोमा औषधि लिइरहेको छ भने त्यसलाई नियमित गराउन पनि परिवारले भुमिका खेल्नुपर्दछ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *