“सुशिला एक अठ्ठाइस वर्षीय विवाहित महिला हुन् । उनले एम्.ए. सम्म अध्ययन गरेकी छन् र उनी अहिले नेपालको एक प्रतिष्ठित बैङ्कमा काम गर्दै आएकी छन् । उनलाई टाउको दुखाईको समस्याले साह्रै सताएको छ । हप्ताको १–२ पटक उनको टाउकोको एक पाटो दुख्छ र एक पटक सुरु भए पश्चात् ५–६ घण्टासम्म दुखिरहन्छ । यसले गर्दा उनी आफ्नो काममा जान सक्दिनन् । उनका साथिहरुले उनलाई डाक्टरकहाँ जाने सल्लाह धेरै पटक दिएतापनि उनी जान मान्दिनन् । उनको अनुसार डाक्टरकहाँ गएमा डाक्टरले उनलाई धेरै नचाहिने औषधी दिन्छन् र महङ्गा टेस्टहरु गराउँछन् । उनको आमालाई पनि टाउको दुख्ने समस्या छ । उनलाई दुखेको औषधी खाँदा मृगौला खराब हुन्छ भन्ने लाग्छ र उनी बिना औषधी नै ठिक हुन्छ भन्ने आशामा छन् । सुशिलाका श्रीमानले उनलाई धेरै पटक डाक्टरकहाँ जाने सल्लाह दिएतापनि उनी मान्दिनन् । अहिले उनी टाउको दुखेर सुतिरहँदा उनका श्रीमानलाई नराम्रो लाग्छ तर उनी मनाउन सक्दैनन् ।”
हामी मध्ये प्राय जसो सबैले टाउको दुखाइको अनुभव गरेका छौं । यसले हाम्रो जीवनको प्रत्येक पाटोमा कत्तिको असर पार्छ भनेर हामी सबैलाई अवगत नै छ। विद्यालयको कार्यकुशलता देखि सामान्य सामाजिक क्रियाकलाप, निन्द्रा, भोक, पारिवारिक अन्तरक्रिया सबैमा टाउको दुखाईले प्रतिकुल असर पार्दछ ।सामान्य रुपमा हामी सबैले सुनेको टाउको दुखाईका पनि धेरै कारण र प्रकारहरु हुन्छन् । चिकित्सा क्षेत्रमा टाउको दुखाईको कुनै ठोस परिभाषा नभएतापनि सामान्यतया भन्दा मस्तिष्कको कुनै पनि पाटोमा हुने दुखाई जसले दैनिक क्रियाकलापमा असर पार्दछ त्यो नै टाउको दुखाईको समस्या हो । टाउको दुखाई आफैंमा एउटा रोग हुनसक्छ वा कुनै रोगको लक्षण पनि हुनसक्छ । टाउको दुखाईको प्रकारका हिसाबले यो केही मिनेट देखि घण्टौंसम्म, एउटा मात्रै पाटो देखि लिएर पूरै टाउको र सामान्य दुखाई देखि लिएर जीवनको सबैभन्दा पिडादायी दुखाईसम्म हुनसक्छ ।
इन्टरनेशनल हेडएक सोसाइटिका आधारमा भन्दा टाउको दुखाईका दुइवटा मुख्य प्रकार हुन्छन्–स्वत स्फूर्त रुपमा हुने टाउको दुखाई जसलाई प्राइमरी हेडएक भनिन्छ र कुनै कारणबस हुने दुखाई जसलाई सेकेन्डरी हेडएक भनिन्छ । प्राइमरी हेडएक आफैंमा एउटा रोग हो जुन टाउको र घाँटीका मांशपेशी, रक्तनली, नशाहरु जस्ता संवेदनशील भागहरुमा हुने सक्रियताले हुने गर्दछ । यसका साथै दिमागको रसायनीक तत्वको बढि सक्रियताका कारण यस्तो दुखाई हुने गर्दछ । त्यस्तैगरी सेकेन्डरी हेडएकमा धेरैजसो देखिने कारणहरु टाउकोको चोट, पक्षघात, शरीरमा पानीको मात्राको कमि, पिनास, आँखाको कमजोरी, जलबिन्दू, पेनकिलरको (दुखाइ कम गर्ने औषधीको) चाहिने भन्दा बढी प्रयोग आदि पर्दछन् ।
टाउको दुखाईको अर्को मुख्य कारण डिप्रेशन पनि हो । धेरै जसो क्लिनिकमा आउने डिप्रेशनका बिरामीहरुले टाउको दुखाईको समस्या लिएर आउने गर्दछन् र सामान्य चिकित्सकले दुखाईको मात्र उपचार गर्दा डिप्रेशन छुट्ने गर्दछ जसले गर्दा लामो समयसम्म समस्या देखिन सक्छ । अझ तथ्याङ्क हेर्ने हो भने ३०% भन्दा बढि माइग्रेनका बिरामीलाई कुनै न कुनै मानसिक समस्या देखिने गरेको छ ।
स्वास्थ्य सेवा प्रदायकले सामान्यतया उपचार लक्षणहरुको हिस्ट्री र जेनेरल एक्जामिनेशन गरेर टाउको दुखाईको निदान गर्ने गर्दछन् । टाउको दुखेका सबै बिरामीहरुकोलागी सी.टी. स्क्यान, एम्.आर्.आई. जस्ता महङ्गा टेस्टहरु चाहिँदैनन् तर सोध्दै जाँदा त्यस्ता केही लक्षणहरु देखिए जसलाई रेड फ्ल्याग साइन्स भनिन्छ त्यस्तो अवस्थामा सी.टी. स्क्यान वा एम्.आर्.आई. गराउनु जरुरी हुन्छ । तल उल्लेखित समस्या देखिएमा टाउको दुखाई खतरापूर्ण हुनसक्दछ:
विगतको भन्दा दुखाईको प्रकृतिमा फरकपन
टाउकोको चोटपछिको दुखाई
अचानक दुखाईको सुरुवात
५० वर्षभन्दा माथिको उमेरमा हुने दुखाई
टाउको दुखाईसँगै अरु नशा रोग सम्बन्धि लक्षणहरु जस्तै मुख बाङ्गो हुने, प्यारालाइसिस हुने, शरीरको कुनै भाग लाटो हुने
मस्तिस्क संक्रमणका लक्षणहरु जस्तै बान्ता हुने, घाँटी अररो हुने, उच्च तापको ज्वरो आउने
आँखा रातो हुने र उज्यालोमा आँखा तिरमिराउने
कुनै क्यान्सरका कारणले हुने टाउकोको दुखाई
टाउको दुखाईको सबैभन्दा सामान्य उपचार भनेको उचित आराम र दुखाई कम गर्ने(पेनकिलर्स) औषधी नै हुन्। अनुमानित ५०% भन्दा बढी व्यक्तिहरुले यसकोलागि डाक्टरकहाँ नगई आफैं आफ्नो उपचार गरेको पाईएको छ । अन्तराष्ट्रिय अध्ययनहरु हेर्दा टाउको दुखाईको समस्या अशक्तताको तेस्रो प्रमुख कारणको रुपमा आएको छ । समस्या ठूलो भएतापनि नेपाल साथसाथै विश्वभरी नै यसको निदान र व्यवस्थापनकालागि धेरै अवरोधहरु देखिएका छन । सामान्य सेवा प्रदायक डाक्टरहरुमा यस सम्बन्धि ठोस ज्ञान नहुनु पनि ठूलै चुनौतीको रुपमा उभिएको छ । विश्वभरि नै एम.बि.बि.एस. तहको करिकुलममा औसत रुपमा ४ घण्टा मात्रै टाउको दुखाईको बारेमा पढाईन्छ । चार घण्टाको पढाइले यति ठूलो समस्या समाधान गर्न सजिलो नहोला । यस्ता कारणहरुले गर्दा धेरै बिरामीहरुमा यसको निदान नभएको पाइन्छ । विश्वव्यापी तथ्याङ्क हेर्ने हो भने पनि ४०% माइग्रेन र टेन्सन टाइप हेडएकका बिरामीले मात्र उचित सेवा पाएका हुन्छन् । अझ नेपालको अवस्था यो भन्दापनि जटिल नहोला भन्न सकिन्न ।
जनमानसमा टाउको दुखाइलाई ठूलो समस्याका रुपमा नहेरिनु पनि अर्को महत्वपूर्ण पक्ष हो। यो केही दिनको अन्तरालमा आउने, मृत्यु नगराउने र नसर्ने हुँदा खासै गम्भिर चासोको विषय मानिँदैन। विकसित मुलुकमा पनि यस समस्याकालागि चाहिने भन्दा धेरै कम रोगीहरु परामर्शकालागि जाने तथ्यले के जनाउँछ भने यस प्रतिको जनचेतना अति नै कम छ र धेरैलाई समस्याको उचित उपचार हुन्छ भन्ने थाह नै छैन । हाम्रो देशमा त झन् यो भन्दा पनि विकराल स्थिति छ ।
समग्रमा भन्नु पर्दा टाउको दुखाई सर्वव्यापी र उपचार हुने रोग भएतापनि यसको उचित पहिचान, उपचार र निदान हुन सकेको छैन । छिटै उपचार गरेमा सजिलै ठीक हुने र उपचार नगरेमा बल्झिँदै जाने हुँदा यसको प्रत्यक्ष प्रभाव व्यक्तिगत तथा सामाजिक दुवै पाटोमा पर्दछ । यसको उपचारमा लाग्ने खर्च भन्दा यसको कारण कार्यकुशलतामा आउने ह्रासका कारणले समाजले भोग्नु पर्ने आर्थिक भार अत्याधिक हुन्छ । टाउको दुखाईकालागि प्रदान गरिने स्वास्थ्य सेवामा सुधार हुनु आवश्यक त छ नै तर यसकालागि विभिन्न तहमा शिक्षा प्रदान गर्नु पनि अत्यन्त जरुरी देखिएको छ ।