आत्महत्या सम्बन्धि जनमानसमा धेरै भ्रमहरु छन् । यस मध्ये सबैभन्दा ठूलो भ्रम भनेको आत्महत्याबारे कुराकानी गर्दा वा यसबारे सोध्दा जोखिममा भएका व्यक्तिलाई आत्महत्या गर्न उक्साउँछ भन्ने हो तर वास्तवमा आत्महत्याको बारेमा कुराकानी गर्दा यसले जोखिममा भएको व्यक्तिमा रहेको तनावलाई घटाउन मद्दत गर्दछ । त्यसैगरि आत्महत्याबारे कुराकानी गर्दा त्यो व्यक्तिको भावना बुझिदिए जस्तो महसुश हुन्छ र आफ्नो समस्याको बारेमा छलफल गर्नका लागि हौसला प्रदान हुन्छ । मानिस जब आत्महत्या गर्ने संघारमा पुगेको हुन्छ उसको मनमा गरौं वा नगरौं भन्ने ठूलो द्वन्द चलिरहेको हुन्छ । यस्तो अवस्थामा यदि कसैले सोध्यो वा कुराकानी गर्दा व्यक्तिलाई बचाउनलाई ठूलो मद्दत हुन्छ ।
त्यसैगरी अर्को भ्रम के छ भने, जो व्यक्तिले आत्महत्याको बारेमा कुरा गर्छ उसले आत्महत्या गर्दैन । तर वास्तवमा हेर्ने हो भने आत्महत्या गर्ने १० जना मध्ये ८ जनाले कुनै न कुनै रुपमा आफ्ना सोच वा मर्ने योजना आफन्तजनलाई भनेका हुन्छन् । त्यसकारणले यदि कोही व्यक्तिले आत्महत्याबारे कुरा गर्छ वा संकेत दिन्छ भने त्यसलाई संवेदनशिलताका साथ हेर्नु पर्दछ र सकेसम्म विशेषज्ञ सेवाकालागि अभिप्रेरित गर्नु पर्दछ ।हाम्रो समाजमा आत्महत्याको प्रयास गर्ने व्यक्तिले अरुको ध्यान आकर्षण गर्न खोजेको भनेर लाञ्छना लगाउने प्रवृति छ । वास्तवमा त्यस्ता व्यक्तिलाई समयमा ध्यान दिन सकिएन वा मनोचिकित्सा प्रदान गर्न सकिएन भने त्यसको परिणाम मृत्यु नै पनि हुन सक्दछ ।
जब व्यक्तिले आत्महत्या गर्ने अठोट गर्दछ तब उसलाई बचाउन सकिदैंन भन्ने अवधारणा पनि समाजमा प्रचलित छ । तर यो अवधारणा अत्यन्तै गलत हो र उचित ध्यान तथा उपचार गरेको खण्डमा धेरै आत्महत्यालाई रोक्न सकिन्छ ।
आत्महत्या रोक्नकालागी हामीले कस्ता व्यक्ति आत्महत्याको जोखिममा हुन्छन् भन्ने कुरा बुझ्न जरुरी छ । अत्याधिक रुपमा निराश हुने, तनावमा हुने, आशाविहीन हुने, एकान्तमा बस्ने, लागु पदार्थको धेरै प्रयोग गर्ने, विगतमा आत्महानी गर्न खोजेको जस्ता लक्षण देखिएमा सतर्क हुन जरुरी हुन्छ । त्यसैगरी हिंसात्मक व्यवहार देखाउने तथा आफ्नो समस्याको बारेमा कुराकानी गर्न नचाहने वा नकार्न खोज्ने व्यक्तिहरुमा पनि आत्महत्याको जोखिम हुन्छ ।सामान्य रुपमा हेर्दा आत्महत्याका कारण सामाजिक समस्या जस्तैः परीक्षामा फेल हुनु, पारिवारीक कलह, प्रेममा असफलता, आर्थिक विपन्नता आदि भन्ने मान्यता छ । वास्तवमा, आत्महत्याको प्रयास गर्नेहरु मध्य ९०% मा डिप्रेसन, लागु पदार्थ दुव्र्यसन, मनोविकृति जस्ता मानसिक रोग देखिन्छ । जस्तोसुकै सामाजिक परिस्थिती भएपनि मस्तिस्कमा हुने रसायनिक गडवडी र वंशाणुगत कारणलाई नै मुख्य हुन् । यस्ता जैविक कारणलाई सामाजिक अवस्था र मनोवैज्ञानिक अवस्थाले असर पार्दछन् । सामाजिक तनावका अवस्थाले मात्रै आत्महत्यालाई प्रोत्साहन गर्छ भन्नु गलत हो ।
समग्रमा भन्नुपर्दा, नेपालकालागि आत्महत्या एउटा गम्भीर जनस्वास्थ्य समस्याका रुपमा देखिएको छ । यसका लागी जनचेतना बढाउनु, लाञ्छना कम गर्नु र समस्यामा परेका बिरामीलाई उचित सेवा प्रदान गर्नु अति आवश्यक देखिन्छ । सरकारका तर्फबाटपनि यदि स्वास्थ्य नितिमा आत्महत्यालाई संवोधन नगरिएमा अत्याधिक मात्रामा आत्महत्या हुने देशहरुको सूचिमा नेपाल पहिलो स्थानमा जान धेरै समय लाग्ने छैन ।